काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनपछि रिक्त रहेको रुपन्देही–३ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगले कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो। आयोगले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार नेपालको संविधानमा व्यवस्था भएअनुसार प्रतिनिधिसभाको रिक्त स्थान पूर्ति गर्न उपनिर्वाचन गरिन लागिएको हो।
२०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए। तर, २०७९ चैत १९ गते काठमाडौंमा उनको निधन भएपछि रुपन्देही–३ निर्वाचन क्षेत्र प्रतिनिधित्वविहीन बनेको थियो।
निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै चाँडै नै निर्वाचन कार्यतालिका र प्रक्रिया सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।