बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अत्याधुनिक भवन निर्माणले गति लिएको छ । जमिनमुनि दुई तला र माथि १० तला गरी कुल १२ तले भवन निर्माणको कामले तीव्रता पाएको हो । जमिन मुनिको २ तला ढलाईको काम सकिएको कन्सल्टेण्ट ईन्जिनियर समिर पन्थले जानकारी दिनु भयो । जमिन मुनिको २ तला पार्किङ रहने छ । हाल दैनिक करिब १५० कामदारबाट बिहान ७ बजेदेखि राति १० बजेसम्म काम चल्ने गरेको उहाँले जानकारी दिनु भयो ।
ईन्जिनियर पन्थका अनुसार भवनको तल्लो तलामा पार्किङ, अगाडिको भागमा ओपीडी, इमर्जेन्सी र इन्डोर सेवा कक्ष रहने छन् भने माथिल्ला तलामा १२ सय बेडसहितको आधुनिक उपचार सेवा रहने गरि डिजाईन रहेको छ ।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा रहेको यो अस्पताल भवन निर्माण, उपकरण र व्यवस्थापनसहित कुल लागत ८ अर्ब ९९ करोड ७५ लाख रहेको छ । भवन निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन तथा रेलिगेर सम्मिलित कम्पनीलाई दिइएको हो ।
वि.सं.२०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको हो । हालसम्म २७ प्रतिशत भौतिक प्रगति रहेको लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका सिईओ छविराज पाखेरेलले जानकारी दिनु भयो ।
यो आयोजना पाँच वर्षभित्र, अर्थात् २०८५ पुस २५ गतेसम्म ६ अर्ब १८ करोडको लागतमा सम्पन्न गर्ने लक्ष्य रहेको र आर्थिक वर्ष २०८२÷८३ को लागि प्रदेश सरकारले १ अर्ब बजेट विनियोजन गरेको उहाँले जानकारी दिनु भयो ।
सरकारबाट आवश्यक स्रोत र साधन समयमा नै प्राप्त गर्न सके योजना सुरु भएको ४ वर्षमा नै काम सकिने सिईओ पोखरेलको दाबी छ ।
तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराको पालामा वि.सं. १९६७ फागुन १५ गते ६ शैय्याबाट सुरु भएको यो अस्पताल मुलुक संघीय संरचनामा गएसँगै यसको सम्पूर्ण व्यवस्थापन तथा सञ्चालनको जिम्मा लुम्बिनी प्रदेश सरकारले लिएको छ । हाल ५२४ बेडमा सञ्चालन भैरहेको यस अस्पताललाई १२ सय सैय्यामा पुर्याउँदा देशकै ठुलो अस्पताल बन्ने छ ।