कञ्चनमा ४५२ सुकुम्बासी परिवारले पाए लालपुर्जा, वर्षौको सपना पुरा

कञ्चनमा ४५२ सुकुम्बासी परिवारले पाए लालपुर्जा, वर्षौको सपना पुरा

सैनामैना, अनिता चौधरी | रुपन्देहीको कञ्चन गाउँपालिका–५ का भानुभक्त उपाध्यायले ४० वर्षपछि लालपुर्जा पाएपछि जीवनभरको सपना पुरा भएको महसुस गरेका छन्। ९८ वर्षीय उपाध्याय १४ वर्षको उमेरमा बाग्लुङबाट आफन्त खोज्दै तराई झरेका थिए। त्यतिबेला कञ्चन घना जंगल थियो, बसोबास न्यून थियो। वर्षौं अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनलाई बल्लतल्ल लालपुर्जा प्राप्त भयो।

“अब सम्पत्तिमा छोरा–छोरीले व्यवसाय गर्न सक्नेछन्। पहिले लालपुर्जा नभएकै कारण समस्या भयो,” उनले भने।

उस्तै खुशीको अनुभूति धर्मराज पौडेलले पनि व्यक्त गरे। उनले भने, “वर्षौंसम्म लालपुर्जाविहीन भएर अपमानित महसुस भएको थियो। आज बल्ल हामी नागरिक जस्तो भएको महसुस भएको छ।”

पार्वती हमालले त कहिल्यै पाउँछु भन्ने पनि लागेको थिएन। २० वर्षदेखि कञ्चनमा बस्दै आएकी उनले भनिन्, “लालपुर्जा हातमा परेपछि बल्ल सम्पत्तिको अधिकार पाएको अनुभूति भयो। अब बैंक सहकारीबाट ऋण लिन पनि सहज हुनेछ।”

कञ्चन गाउँपालिका–५ का ६३२ अव्यवस्थित बसोबासीमध्ये ४५२ परिवारले लालपुर्जा पाएका हुन्। भूमिआयोगले निर्धारण गरेको राजस्व तिरेका आधारमा प्रमाणपत्र वितरण गरिएको हो। आवासतर्फ ८६५.८९ वर्गमिटर र कृषितर्फ ९८१ र २२६५ वर्गमिटर क्षेत्रफलको जग्गामा आधारित प्रमाणपत्र वितरण गरिएको हो।

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसम्बन्धी समस्या समाधानका लागि २०७७ सालमा भूमिआयोगमा १५ हजारभन्दा बढीले आवेदन दिएका थिए।

सरकारी प्रतिबद्धता र कार्यक्रम

लालपुर्जा वितरण कार्यक्रम नेपाल सरकारको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभयो। उहाँले अव्यवस्थित बसोबासी समस्याको समाधानका लागि कञ्चनलाई पहिलो पालिका बनाइएको बताउनुभयो।

“चुनावताका जनतालाई गरिएको वाचा अनुसार आज लालपुर्जा वितरण गरेर जवाफ दिएका छौं,” मन्त्री पौडेलले भने। “सरकार समस्याको भुग्रोमा पसेर समाधान गर्ने अठोटका साथ अघि बढेको हो।”

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले कानुन संशोधन गरी निकुञ्ज, नदी उकास र वनक्षेत्रमा बसोबासीका लागि पनि व्यावस्थितरूपमा लालपुर्जा वितरण गरिने जानकारी दिनुभयो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भारत शाहले सुकुम्बासीहरूले पाएको जग्गाको सही सदुपयोग गर्न आग्रह गर्नुभयो। उनले भने, “१० वर्षसम्म जग्गा बिक्री वितरण गर्न नपाउने प्रावधान रहेकाले, धितो राखेर ऋण पाउन सक्ने कानुनी व्यवस्था छिटो लागू गर्नुपर्छ।”

भूमिआयोगका अध्यक्ष हरिप्रसाद रिजालले देशभरबाट १२ लाख १३ हजार निवेदन परेको जनाउँदै तीन तहको सरकारको समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

कञ्चनको एतिहासिक दिन

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भुमिश्वर ढकालले कानुनी प्रक्रिया अनुसार लालपुर्जा वितरण गरिएको बताउँदै भ्रममा नपर्न आग्रह गर्नुभयो। उनले भने, “राजनीतिक अस्थिरता भए पनि समृद्धिको दिशामा सरकार अघि बढेको छ।”

कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले भने, “चुनावमा बोलेको कुरा व्यवहारमा उतार्न सफल भएका छौं। पहिलो चरणमा ४५२ परिवारलाई पुर्जा दिएर एतिहासिक काम गरेका छौं।”

अध्यक्ष ढकालले अवश्यम्भावी राजस्व शुल्कको चुनौती पार गर्दै आवासतर्फ १० प्रतिशत र कृषितर्फ ५–१० प्रतिशत मूल्याङ्कनमा आधारित शुल्क व्यवस्था गरिएको जानकारी दिनुभयो। साथै, राजस्व तिर्न नसक्नेका लागि सहकारी तथा बैंकमार्फत कम व्याजदरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।