काठमाडौं । पछिल्लो समय इजरायल–इरान युद्धका कारण मध्यपूर्व क्षेत्रमा बढ्दै गएको तनावलाई ध्यानमा राख्दै सरकारले त्यहाँ रहेका नेपाली कामदार तथा नागरिकहरूको सुरक्षाका लागि बहुआयामिक कार्य योजना तयार पारेको छ ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह, परराष्ट्र, पर्यटन, कानुन मन्त्रालय तथा निजी क्षेत्रका सरोकारवालाको आपतकालीन बैठक बसेको थियो । बैठकले आपत्कालीन परिस्थितिमा मध्यपूर्वमा रहेका नेपाली नागरिकको उद्धार, सरलीकृत आगमन प्रक्रिया र आवश्यक सहजीकरणका विषयमा कार्य योजना तय गरेको हो ।
सचिव पुष्करले विदेशस्थित नेपाली नागरिकको सुरक्षालाई लिएर सरकार संवेदनशील रहेको र परिस्थिति बिग्रिएको अवस्थामा नेपाल फर्कन चाहनेहरूका लागि उद्धारदेखि भिसा सहजीकरणसम्मका उपायमा तयारी थालिएको जानकारी दिए ।
सरकारी तथ्यांकअनुसार हाल इजरायलमा ५ हजारदेखि ७ हजार नेपाली छन् भने इरानमा पनि दर्जनभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ । ती क्षेत्रहरूमा रहेका नेपालीहरू सुरक्षित रहुन् भन्ने उद्देश्यका साथ नेपाल सरकार आवश्यक समन्वय र सहकार्यमा जुटेको छ ।