अब रोबोटले डेलिभरी गर्ने अमेजनको योजना, लाखौं जागिर जोखिममा

अब रोबोटले डेलिभरी गर्ने अमेजनको योजना, लाखौं जागिर जोखिममा

काठमाडौं : अमेजनले डोरस्टेप डेलिभरी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संकेत दिएको छ। कम्पनीले अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा ‘ह्युमनोइड रोबोट’हरूको परीक्षण गर्दैछ, जसले भविष्यमा मान्छे बिना नै सिधै भ्यानबाट झरेर ग्राहकको ढोका अगाडि प्याकेज पुर्‍याउनेछ।

‘ह्युमनोइड पार्क’ नामक विशेष प्रशिक्षणस्थलमा परीक्षण भइरहेका यी रोबोटहरू अमेजनका रिभियन इलेक्ट्रिक भ्यानहरूसँग समायोजन गरिनेछन्। अहिले पायलट चरणमा रहेको यो प्रविधिले पूर्ण स्वचालित डेलिभरी प्रणालीको ढोका खोल्ने संकेत गरेको छ।

अमेजनले हाल “युनी ट्री १” नामक रोबोट प्रयोग गरिरहेको छ, जसको मूल्य करिब १६ हजार अमेरिकी डलर पर्छ। यी दुई खुट्टा र दुई हात भएका रोबोटहरू मानवजस्तै ढंगले गतिविधि गर्न सक्षम छन् — भ्यानबाट ओर्लन, प्याकेज समात्न र घरको ढोकासम्म पुर्‍याउन। साथै, अप्ठ्यारा र बाधा भएका स्थानहरूमा पनि परीक्षण गरिँदैछ, ताकि वास्तविक वातावरणमा काम गर्न सक्ने योग्यता विकास होस्।

यद्यपि कम्पनीले यो प्रविधिले तत्कालै चालक र डेलिभरी म्यानहरूको जागिर खोस्ने छैन भने पनि दीर्घकालीन रूपमा ठूलो असर पार्ने अनुमान गरिएको छ। अमेजनका अनुसार जबसम्म रोबोटहरू पूर्ण रुपमा सक्षम हुँदैनन्, तबसम्म डेलिभरी कार्य मानव चालककै जिम्मामा रहनेछ।

पहिले गोदाम भित्र सीमित यो स्वचालित प्रविधि अब ‘लास्ट माइल डेलिभरी’ अर्थात अन्तिम गन्तव्यसम्म सेवा पुर्‍याउने प्रक्रियामा पनि प्रयोग गरिँदैछ। कम्पनीको दीर्घकालीन रणनीति लागत घटाउने र सेवाको गति बढाउनेतर्फ केन्द्रित देखिन्छ।

अहिले अमेजनसँग अमेरिकामा करिब २ लाख ७५ हजार र विश्वभर झन्डै १५ लाख डेलिभरी ड्राइभरहरू छन्। यदि रोबोट डेलिभरी प्रविधि व्यावसायिक रूपमा सफल भयो भने, यिनीहरूको जागिरमा गम्भीर खतरा उत्पन्न हुने निश्चितप्रायः छ। यसले डेलिभरी उद्योगमा ठूलो परिवर्तन ल्याउन सक्छ, जसका लागि अबदेखि नै सचेत रहनुपर्ने देखिन्छ।