बारा : बारा जिल्लाको गण्डक नहर क्षेत्रबाट २१२ किलो ९२८ ग्राम गाँजासहित एक पिकअप गाडी र चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा लागुऔषध ओसारपसार हुन लागेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमरा र प्रसौनीबाट खटिएको संयुक्त टोलीले शनिबार बिहान साढे ८ बजे चेकप्वाइन्टमा सो गाडीलाई रोकेर जाँच गर्दा धानको भुषभित्र लुकाइ राखिएको गाँजा फेला परेको हो।
पक्राउ परेकाहरूमा पिकअप चालक रबि कार्की (२८), थाहा नगरपालिका ४, मकवानपुर, बिर बहादुर गोले (४६), टिसटुङ १२, मकवानपुर, साजन मुक्तान (२३), हेटौंडा उपमहानगरपालिका १४, र महेश तामाङ (३१), थाक्रे गाउँपालिका ७, धादिङ रहेका छन्।
पक्राउ परेका व्यक्तिहरू प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो पिकअप गाडीमा सवार थिए। बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङका अनुसार लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजय राज पण्डितद्वारा जारी विज्ञप्तिमा उल्लेख अनुसार, उनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।